काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभाति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश सिफािरसको विषयलाई लिएर अनावश्यक टीकाटिप्पणी नगर्न चेतावनी दिएका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने संसदीय प्रशिक्षणको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले न्यायमूर्तिहरूबाट यस्तो अभिव्यक्ति आउनु दुखद रहेको भन्दै प्रधानन्यायाधीश सिफारिसमा संविधान नमिचिएको उनले दाबी गरे ।

आफ्नो सरकार बन्नुअगावै नै न्यायपरिषद्ले गरेका ६ जनाको सूचीबाट एकजनालाई प्रधानन्यायायधीशमा सिफारिस गरिएको र त्यो संविधानअनुसार नै भएको भन्दै उनले संवैधानिक परिषद्को सिफारिसको बचाउ गरे । ‘हामी सरकारमा आउनुअघि नै सिफारिस गरिएको हो । त्यही विधिअनुसार एकजनाको नाम सिफारिस गरिएको हो । यसमा चित्त दुखाउनुको कारण नै छैन । त्यो विषयलाई सडकमा ल्याएर जग नहँसाइयोस्,’ उनले भने ।
रविले घुमाउरो पारामा अहिलेको संविधान मान्नुपर्ने आवश्यकता रास्वपालाई नभएको पनि बताए । उनले पहिले नै बनिसकेको संविधानअनुसार आफ्नो पार्टी चलेको र पहिलेका दलले भन्दा बढी संविधानको पालना गरेको उनले दाबी गरे । अहिले सरकारमा महिला र दलितको प्रतिनिधित्व हेर्ने हो भने पनि संविधान मान्ने एक मात्र पार्टी रास्वपा भएको जिकिर गरे ।
रविले प्रधानन्यायाधीश सिफारिसमा गरिएको बदला आफूसँग लिने हो भने पनि त्यो चुनौती खेप्न आफू तयार रहेको बताए । उनले आफ्नो गर्धन अदालतमै राखेर आएको र हतियार चलाइदिनुपर्ने भए चलाउन चुनौती पनि दिए ।
कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषदको निर्णय संविधानवादको विरुद्धमा रहेको भन्दै अझै पनि लडाइँ जारी रहेको भन्दै दुई तिहाइको सरकारसँग नडराउन आह्वान गरेकी थिइन् ।
लामिछानेले आसन्न आर्थिक वर्षको बजेट कुनै निर्वाचन क्षेत्र विशेषमा केन्द्रित नभई समग्र नेपालको हितमा निर्माण हुने बताए । उनले रास्वपाको सरकार हुँदा जनतामा केही अन्योल देखिएको भए पनि सरकारले अत्यन्तै विचार पुर्याएर काम गरिरहेको दाबी गरे। उनले सरकारका कामकारबाहीलाई लिएर संशय नगर्न आग्रह गर्दै परिणाममुखी काम भइरहेको उल्लेख गरे।

‘सरकारका कामबारे के भन्ने भन्ने अन्योल पनि हुन सक्छ, तर सरकारले हरेक कदम सोची विचार गरेर चालिरहेको छ,’ लामिछानेले भने, ‘यसपटक कुनै एउटा क्षेत्रको मात्र होइन, पूरै नेपालको बजेट बन्छ। हामी जनताको काममा केन्द्रित छौं।’
लामिछानेले हालै जारी भएका अध्यादेशका विषयमा उठेका प्रश्नहरूको समेत बचाउ गरे। उनले ती अध्यादेशहरू देशको विकासलाई गति दिन फास्ट ट्रयाकका रूपमा ल्याइएको सुनाए। ‘अध्यादेशका विषयमा प्रश्नहरू उठे, तर ती मुलुकको भविष्यलाई अन्धकार पार्न होइन, प्रक्रियालाई सहज बनाउन ल्याइएका हुन्,’ उनले थपे, ‘हामी नयाँ छौं, तर बेवकुफ छैनौं। हामी देशलाई ट्रयाकमा ल्याउने प्रयास गरिरहेका छौं।’
सभापति लामिछानेले सञ्चारमाध्यम र जनस्तरबाट आउने दबाब वा बुमदेखि डराएर भाग्ने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले रास्वपाका सांसदहरूलाई आत्मविश्वासका साथ जनताको पक्षमा उभिन निर्देशन दिँदै मुलुकको भविष्यप्रति पार्टी संवेदनशील रहेको बताए।
रविले पार्टीमा योगदान गरेको भन्दै ढोका नढक्ढक्याउन आग्रह गरेका छन्। ‘मलाई अहिले पनि साथीहरु कहिलेकाहीँ भन्नुहुन्छ। सभापतिज्यू म त सुरुवातदेखि लागेको, मेरो त योगदान यति छ भनेर योगदानको मूल्य माग्न ढोका ढकढक्याउनुहुन्छ। मलाई दुख लाग्छ। यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन,’ उनले भने।
पुराना दलहरुले व्यवस्था परिवर्तनका लागि तीन दशक संघर्ष गरेको उल्लेख गर्दै लामिछानेले रास्वपाको काँधमा अवस्था बदल्ने सजिलो क्रान्तिको जिम्मेवारी आएको बताए।
‘यो क्रान्ति इतिहासकै सबैभन्दा सजिलो क्रान्ति, घरमा खाना खाएर निस्कनुहुन्छ । बालबच्चा परिवार सकुशल छन्। कहिँ लुक्दै भाग्दै हिँड्नुपर्दैन ।यति क्रान्तिलाई पनि परिणाम दिन सकिएन भने तपाइँ हामी नालायक भएर निस्कन्छौँ,’ उनले भने।






