काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरेको बैकले जनाएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजित शिविरमा करिब आठ सय सेवाग्राहीले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन् । परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।
असार १२ देखि १६ गतेसम्म सञ्चालन भएको शिविर बरैनीया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवालगायतका स्थानमा आयोजना गरेकोे थियो । शिविरमा सहभागी हुने सर्वसाधारणले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गर्नुका साथै आवश्यकताअनुसार मोतिबिन्दुको शल्यक्रिया लिएका छन् ।
स्थानीय बासिन्दाहरूलाई समयमै आँखा परीक्षण गराई दृष्टिसम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहभागी गराई सर्वसाधारणलाई लाभ पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममार्फत बैंकले समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा जनजीवनको गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने विश्वास लिएको छ ।





