नेपालको बैंकिङ क्षेत्रमा वित्तीय पहुँच विस्तार उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ वैशाख मसान्त र २०८३ वैशाख मसान्तसम्मको तुलनात्मक तथ्यांकअनुसार निक्षेप खाता, कर्जा खाता तथा डिजिटल बैंकिङ सेवाको प्रयोग उल्लेख्य रूपमा बढेको छ। यद्यपि बैंक शाखा, एटीएम र शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या भने घटेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको संख्या ५४ वटामै स्थिर रहेको छ। तर बैंकिङ क्षेत्रका शाखा ६ हजार ५०७ बाट घटेर ६ हजार ३७५ मा झरेका छन्। अर्थात् एक वर्षको अवधिमा १३२ शाखा घटेका छन्। त्यसैगरी एटीएम काउन्टरको संख्या पनि ५ हजार २६६ बाट घटेर ५ हजार १४३ मा सीमित भएको छ।

ADVERTISEMENT

बैंकिङ पहुँचको सूचकका रूपमा रहेको निक्षेप खाताको संख्या भने उल्लेखनीय रूपमा बढेको छ। २०८२ वैशाख मसान्तसम्म ५ करोड ९० लाख २८ हजार ४७८ रहेको निक्षेप खाता संख्या २०८३ वैशाख मसान्तसम्म ६ करोड २७ लाख २३ हजार ७७ पुगेको छ। यस अवधिमा ३६ लाख ९४ हजार ५९९ नयाँ निक्षेप खाता थपिएका छन्।

कर्जा खाताको संख्या पनि १९ लाख ५३ हजार ८ बाट बढेर २० लाख ३७ हजार ४३५ पुगेको छ। यस अवधिमा ८४ हजार ४२७ नयाँ कर्जा खाता थपिएका छन्।

ADVERTISEMENT

डिजिटल बैंकिङतर्फ मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७२ लाख ६३ हजार ३९१ बाट बढेर ३ करोड ५ लाख ४ हजार २३६ पुगेका छन्। एक वर्षमा मात्रै ३२ लाख ४० हजार ८४५ नयाँ प्रयोगकर्ता थपिएको राष्ट्र बैंकले जनाएको छ। इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि २४ लाख २३ हजार ३८ बाट बढेर २४ लाख ३३ हजार १३ पुगेको छ।

कार्ड प्रयोगमा पनि वृद्धि भएको छ। डेबिट कार्ड १ करोड ३५ लाख ३१ हजार ५५० बाट बढेर १ करोड ३९ लाख ७ हजार ६६४ पुगेको छ। क्रेडिट कार्डको संख्या ३ लाख ६ हजार ७९३ बाट बढेर ३ लाख ३१ हजार ६१ पुगेको छ भने प्रिपेड कार्ड २ लाख ४० हजार ५४ बाट बढेर २ लाख ८१ हजार ६८२ पुगेको छ।

यता, शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या भने ९५१ बाट घटेर ७१६ मा झरेको छ। शाखारहित बैंकिङका ग्राहक पनि २ लाख ८८ हजार ३९२ बाट घटेर २ लाख ६४ हजार ९७८ मा सीमित भएका छन्।

समग्रमा हेर्दा बैंकिङ सेवाको भौतिक पूर्वाधार केही खुम्चिए पनि डिजिटल माध्यममार्फत वित्तीय पहुँच विस्तार हुने प्रवृत्ति तीव्र बन्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।