काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल–भारतबीच रकम पठाउन तथा प्राप्त गर्न सहज बनाउने उद्देश्यले ‘इन्डो–नेपाल क्रस–बोर्डर रेमिट्यान्स’ सेवा सुरु गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा सञ्चालनमा ल्याइएको उक्त सेवामार्फत अब भारतबाट नेपाल र नेपालबाट भारतमा सुरक्षित तथा छिटो रूपमा रकम स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार नयाँ सेवाले परम्परागत प्रक्रियामा हुने झन्झट र ढिलाइलाई हटाउँदै रकम पठाउनेबित्तिकै प्राप्तकर्ताको एनएमबि बैंक खातामा रकम जम्मा हुने व्यवस्था गरेको छ।
यस सेवाको अर्को विशेषता भनेको लामो बैंक खाता नम्बर आदान–प्रदान गर्नुपर्ने झन्झटको अन्त्य हुनु हो। बैंकले ग्राहकलाई विशेष भर्चुअल पेमेन्ट एड्रेस (VPA) उपलब्ध गराउनेछ, जसको प्रयोग गरी सहज रूपमा रकम पठाउन र प्राप्त गर्न सकिनेछ।
ग्राहकहरूले मोबाइल बैंकिङ एप, बैंकको वेबसाइट वा नजिकको शाखामार्फत यो सेवा सक्रिय गरी प्रयोग गर्न सक्नेछन्। शाखामा गएर बैंकका कर्मचारीको सहयोगमा पनि सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकले घरखर्च, व्यक्तिगत आवश्यकता तथा अन्य प्रयोजनका लागि नेपाल–भारतबीच रकम आदान–प्रदान गर्न यो सेवा उपयोगी हुने जनाएको छ। साथै, ग्राहकको रकम सुरक्षित रहोस् भन्ने उद्देश्यले बैंकको आन्तरिक प्रणालीमार्फत निरन्तर निगरानी र सुरक्षा व्यवस्थासमेत गरिएको बैंकले उल्लेख गरेको छ।
एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १८५ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।






