काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि एमालेको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको बताएका छन् । मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेको नीतिबारे छलफल नहुने प्रस्ट पारे ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिस्टबीच एकता गरिहाल्न प्रस्ताव गरेपछि त्यसको जवाफ दिँदै ओलीले एमालेको नीति र नेतृत्व स्वीकार गरेर आए एकता हुने बताए । ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताका लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ,’ उनले भने ।
ओलीले अहिले समाजवाद निर्माण गर्नेभन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे । ‘कहाँबाट समाजवाद निर्माण गर्नु, हैरान छ प्रतिगमन गरेर । यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो’, उनले भने, ‘सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’
ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको पनि दाबी गरे । जनतामा भ्रम छरिएको उनको भनाइ थियो। ‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ। हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेनौँ, अगाडि बढायौँ,’ उनले भने ।
ओलीले आफूहरूले विकास निर्माणको काम अघि बढाएको जिकिर गरे। ‘हामीले गलत काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेको होइन। झूटा प्रचारहरू गरिएको हो। हामीविरुद्ध अफवाह फैलाएर हामीलाई बदनाम गरियो,’ उनले भने ।








