काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राम्रो काम गर्दागर्दै चुनाव हारिएको बताएका छन् । उनले हतास र निराश नबन्न पनि सांसदहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले राम्रो कामका कारण पार्टीमाथि हमला भएको दाबी गरे । ‘हामी नराम्रो कामबाट पछाडि परेका, पारिएका होइनौं। राम्रो कामबाट हामीमाथि हमला भयो। त्यसकारण हामी हतास हुनुपर्ने, हरेश खानुपर्ने, कुनै आवश्यकता छैन। मनोबल गिराउनुपर्ने कुनै आवश्यकता छैन। हामी उच्च मनोबलका साथ अगाडि बढ्दै जानुपर्छ। किनभने हामी सत्यको पक्षमा छौं। सत्यको मार्गमा छौं,’ उनले भने।

ADVERTISEMENT

ओलीले आजको दुनियाँ भनेको विश्वव्यवस्था नै नरहेको अवस्थामा भएको तर्क गरे । ‘संस्थाहरू छन्, इतिहासमा कहिलेभन्दा बढी निष्प्रभावी बनिरहेको स्थिति छ। हाम्रा विश्वव्यापी साझा संस्थाहरू निष्प्रभावी बनिरहेका छन्। वर्ल्ड अर्डर शब्दकोशमा सीमित भयो। व्यवहारमा विश्वव्यवस्था अब रहेन। त्यसको प्रभाव विश्व राजनीतिमा अराजकता, न्यायप्रति कुनै सरोकार नहुने खालको, अन्यायपूर्ण कुराहरू सामान्य र स्वाभाविक लाग्ने अवस्था बनिराखेको छ,’ उनले भने।

एमालेविरूद्ध फैलाइएका भ्रम पार्टीवृत्तले चिर्न नसकेको, सामाजिक सञ्जालमा पार्टीको पक्षमा प्रचार गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए । जुन रूपमा विपक्षीको प्रहारको डिफेन्स हुनुपर्ने हो त्यो नभएको उनको भनाइ थियो । रास्वपालाई लक्षित गर्दै उनीहरू चुनावमा नांगो ढंगले प्रस्तुत भएको र नकारात्मकताले जितेको आरोप लगाए । १३ दिन बाबुकाे काजकिरिया सकेलगत्तै ओली बिहीबार सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

ADVERTISEMENT