काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो ।
सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ । पदाधिकारीमा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचन भएकाले अब उपसभापति (महिला), महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीको निर्वाचन हुँदैछ ।
महिला उपसभापतिमा सोविता गौतम र डा।तोसिमा कार्कीले उम्मेदवारी दिएका छन् । इन्दिरा राना र समीक्षा बासकोटाले उम्मेदवारी फिर्ता लिएका छन् ।
महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यले उम्मेदवारी दिएका छन् । शिशिर खनाल र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएपछि आठजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
सहमहामन्त्रीमा खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री महिलामा जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।
रास्वपाको पहिलो चरणबाट सभापति र ९९ केन्द्रीय सदस्य चयन भइसकेका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।
रास्वपा पदाधिकारीको संख्या १९ भए पनि पाँच पदमा मात्र निर्वाचन हुन लागेको हो । सभापतिमा रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति स्वर्णिम वाग्ले चुनिसकेका छन् । १२ पदाधिकारी सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । रास्वपामा ५० प्रतिशत केन्द्रीय सदस्य मनोनीत र ७५ प्रतिशत पदाधिकारी सभापतिबाट मनोनयन हुने व्यवस्था गरिएको छ ।









