चितवन । बाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे ।
तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’ जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन अवस्था छ ।
सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण राष्ट्रिय स्वातन्त्र पार्टीको महाधिवेशन हो । संसदको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपाको आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय अधिवेशनका कारण चहलपहल बढेकोमा होटल व्यवसायी खुसी देखिन्छन् ।
होटल व्यवसायी संघ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता तथा कार्यकर्ता, पर्यवेक्षक, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थितिका कारण चहलपहल बढेको हो । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको सङ्ख्या चार हजार २११ छ ।
क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रास्वपाको महाधिवेशनका कारण अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताउँछन् । ‘आइतबार सार्वजनिक बिदा हुन थालेपछि यसअघि जस्तो बजार सुनसान थिएन । यसैबीच महाधिवेशन घोषणा भएसँगै सौराहामा चहलपहल बढेको छ । समग्रमा यस वर्ष यहाँका होटल व्यवसायी लाभान्वित भएका छन्,’ उनले भने । सौराहामा रहेका १५० हाराहारी होटलमा सात हजारजनाको क्षमता रहेको उनले बताए ।
सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भए पनि पर्यटकीयस्थलका रूपमा परिचित सौराहा घुम्नबस्न आउने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेख्य रहेको बताउँछन् ।
होटल व्यवसायी सिलवालका अनुसार एमालेको यसअघि सम्पन्न महाधिवेशनपछि रास्वपाको अधिवेशनका कारण अहिले सौराहले प्रचारप्रसारसहित वाह्य पर्यटक पाएको छ ।
सौराहाका रेष्टुरेन्ट व्यावसायी दीपेन्द्र खतिवडा होटल बासका लागि सोधखोज गर्नेको निकै बढको छ । उनका अनुसार शनिबार साँझ अधिकांश सहभागी चितवन आइपुगेकाले आजदेखि सौराह भरिभराउ हुनेछ ।
होटल व्यवसायी संघअन्तर्गतका ७३१ होटल रेष्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश भरिएको व्यवसायीले बताएका छन् । संघका निवर्तमान अध्यक्ष कृष्ण भट्ट गत वर्षमा यतिबेला करिब ४० प्रतिशत हुनेगरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटल भरिएको बताउँछन् ।
भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईं दुई दिनदेखि होटल भरिएको बताउँछन् । महाधिवेशन अवधिभर होटलमा कोठा खाली नभएको बताउँदै उनले भने, ‘हाम्रो होटलमा अरु बेलामा आइरहने पाहुना नै महाधिवेशनमा आएकाले भरिएको छ ।’
दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारी झण्डै एक हप्ताअघिदेखि नै महाधिवेशनको चहलपहल र बैठकले होटल भरिएको बताउँछन् । महाधिवेशनअघि शनिबार यसै होटलमा रास्वपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो । चितवनमा मात्रै होइन, नवलपरासीको गैँडाकोटका होटल पनि भरिएका छन् ।
गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका प्रबन्ध निर्देशक रविन पण्डित तीन दिनदेखि आफ्ना दुईवटै होटल भरिएको बताउँछन् । रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन आएका छन् । होटल व्यवसायीसँग कोठाको विवरण माग गरी रास्वपाका प्रतिनिधिलाई यसअघि नै पठाइएको थियो ।
नेता गौतमका अनुसार होटल व्यवसायीले अन्य समयमा भन्दा सहुलियतमा कोठा र खानाको व्यवस्था गरेका छन् । सहभागी आफैँले कोठाको खर्च तिर्नुपर्ने भएकाले घुम्न पाइने भन्दै श्रीमान्–श्रीमती र छोरा–छोरी आउनेको सङ्ख्या पनि ठूलो रहेको छ ।






