काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्न लागेका हुन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको राजधानी नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले भाजपा नेतृत्वसँगै भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट गर्नेछन् ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहनेछन् ।
रास्वपाले जारी गरेको विज्ञप्तिअनुसार नयाँदिल्लीमा हुने भेटघाट र छलफलपछि लामिछानेले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमण व्यवस्थापन तथा समन्वयका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक सहजीकरण गरिरहेको जनाइएको छ ।








