काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम सिर्जना गरे पनि व्यवहारमा नागरिकमाथि थप आर्थिक भार थोपरेको बताएका छन्।

कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आइतबार सानेपामा आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’को पहिलो कार्यक्रममा बोल्दै थापाले सरकारले आयकरको सीमा १० लाख रुपैयाँसम्म पुर्‍याएर मध्यम वर्गलाई आकर्षित गर्न खोजे पनि अन्य शीर्षकमा कर वृद्धि गरेर नागरिकको खर्च बढाएको दाबी गरे।

ADVERTISEMENT

उनले सरकारको नीति ‘अगाडिको गोजीमा २० हजार रुपैयाँ हालिदिएजस्तो गरेर पछाडिको गोजीबाट ३२ देखि ३४ हजार रुपैयाँ निकाल्ने’ शैलीको रहेको टिप्पणी गरे। शिक्षा क्षेत्रमा ३ प्रतिशत समता शुल्क, स्वास्थ्य सेवामा थप शुल्क तथा ५० युनिटभन्दा बढी विद्युत खपतमा १३ प्रतिशत भ्याट लगाउँदा मध्यम वर्गको वार्षिक खर्च उल्लेखनीय रूपमा बढ्ने उनको भनाइ थियो।

निजी विद्यालय र अस्पताल विलासिताका विषय नभई राज्यको कमजोरीका कारण नागरिकको बाध्यता बनेको उल्लेख गर्दै थापाले यस्ता क्षेत्रमा कर थप्नु अनुचित भएको बताए।

ADVERTISEMENT

सभापति थापाले सरकारले लिएको राजस्व परिचालन लक्ष्य पनि यथार्थपरक नभएको दाबी गरे। बजारमा आर्थिक गतिविधि सुस्त रहेको, घरजग्गा कारोबार घटेको र बैंकमा लगानीयोग्य रकम थुप्रिएको अवस्थामा उच्च राजस्व संकलनको लक्ष्य हासिल गर्न कठिन हुने उनको तर्क थियो।

ऋण व्यवस्थापनबारे बोल्दै उनले ऋणको परिमाणभन्दा पनि त्यसको उत्पादकत्व महत्वपूर्ण हुने बताए। ‘ऋण कति लिने भन्नेभन्दा कुन क्षेत्रमा लगानी गर्ने र त्यसले कस्तो प्रतिफल दिन्छ भन्ने मुख्य विषय हो,’ उनले भने।

कृषि क्षेत्रको बजेट विनियोजनमाथि प्रश्न उठाउँदै थापाले मल खरिदका लागि छुट्याइएको रकम पर्याप्त नभएको बताए। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भइरहेका बेला गत वर्षकै परिमाणमा मल उपलब्ध गराउन थप बजेट आवश्यक पर्ने उनको भनाइ थियो।

सूचना प्रविधि क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा सरकार आफैं एप विकासजस्ता काममा केन्द्रित भएको भन्दै उनले यसले निजी क्षेत्रको सम्भावना खुम्च्याउने धारणा राखे। भूमि बैंक स्थापना र भू–उपयोग नियमावली कार्यान्वयनमार्फत कृषिमा संरचनागत सुधार गर्न सकिने भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको उनले बताए।

थापाले सरकारले ‘विधिको शासन’ भन्दा ‘विधिद्वारा शासन’ गर्न खोजेको आरोप लगाउँदै कानूनलाई स्वार्थपूर्तिको माध्यम बनाउने प्रयास भए नेपाली कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी दिए।

उनले सरकारका सकारात्मक र दीर्घकालीन महत्वका काममा कांग्रेसले सहयोग गर्ने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य–मान्यता र कानूनको शासनमाथि प्रहार भए प्रतिपक्षको भूमिका सशक्त हुने बताए।

कार्यक्रममा उनले नेपाली कांग्रेसले अबदेखि प्रत्येक महिना आर्थिक विषयमा प्राज्ञिक बहस र छलफल गर्न ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ सञ्चालन गर्ने जानकारी पनि दिए। देशको आर्थिक रूपान्तरणका लागि प्राप्त जनमत र अवसरको सदुपयोग गर्न सरकारलाई उनले आग्रह गरे।