काठमाडौं । विश्व फुटबलको महाकुम्भ– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ । ऐतिहासिक समारोहसँगै सुरु हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ । किनभने यसपटकको विश्वकप पहिलोपटक तीन देश– अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

१०४ खेल, ४८ टोली र १६ आयोजक सहर । जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा हुने विशेष उद्घाटन समारोहमार्फत गरिनेछ ।

ADVERTISEMENT

विश्वकप अनि उद्घाटन समारोहका बारेमा चलेको ‘हाइप’ वास्तवमा के हो ?

यसपटकको विश्वकप उद्घाटन समारोह एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा क्रमिक रुपमा आयोजना गरिने तीनवटा समारोह एउटै साझा अवधारणा (थीम)मा आधारित हुनेछन् ।

ADVERTISEMENT

प्रसिद्ध अन्तर्राष्ट्रिय क्रियटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार गरिएका यी कार्यक्रमहरूले फुटबल प्रेमीलाई भाषा र संस्कृतिभन्दा माथि उठेर एकतामा बाध्ने सन्देश दिने संकल्प लिएको छ । यसबीच प्रत्येक देशले आफ्नो सांस्कृतिक पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्नेछन् ।

मेक्सिकोले ‘पापेल पिकाडो’ कलामार्फत आफ्नो संस्कृति देखाउनेछ भने क्यानाडाले ‘सांस्कृतिक मोजाइक’ अर्थात विविधतामा एकताको भाव प्रस्तुत गर्नेछ । अमेरिकाले आधुनिक प्रविधि र चम्किलो दृश्य प्रभावमार्फत आफ्नो पहिचान झल्काउनेछ ।

मेक्सिको सहरबाट हुनेछ औपचारिक सुरुआत (जुन ११)

विश्वकपको पहिलो उद्घाटन समारोह जुन ११ मा मेक्सिको सिटी स्टेडियममा हुनेछ । प्रतियोगिताको पहिलो खेलअघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ ।

आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन् । साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले पनि प्रस्तुति दिने छन् ।

समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरू देखिन सक्ने अपेक्षा छ ।

उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार खेल मध्यराति १२ः४५ बजे हुनेछ । उद्घाटन समारोह ८ः४५ बजेबाट हुनेछ ।

टोरन्टो, क्यानाडा (जुन १२)

जुन १२ मा टोरन्टोमा क्यानाडाको उद्घाटन समारोह आयोजना हुनेछ । यो क्यानाडाका लागि विशेष अवसर हुनेछ । किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दैछ ।

मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ । क्यानाडा पहिलोपटक यति ठूलो प्रतियोगिता ‘होस्ट’ गर्दैछ । त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ ।

‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ अर्थात देशको पूर्वदेखि पश्चिम र उत्तरसम्मको यात्रालाई चित्रण गर्ने विशेष प्रस्तुति समारोहको मुख्य विषय रहनेछ । क्यानाडाको बहु–सांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिनेछ ।

समारोहमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरूले प्रस्तुति दिने अपेक्षा गरिएको छ ।

समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ । खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे हुनेछ । उद्घाटन समारोह राति ११ः१५ बजेबाट हुनेछ ।

लस एन्जलस (जुन १२)

अमेरिकाको उद्घाटन समारोह पनि जुन १२ मा लस एन्जलसमा आयोजना हुनेछ । मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने यो कार्यक्रमले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति दिनेछ ।

कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने सम्भावना छ । आयोजकहरूका अनुसार यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ । समारोहपछि अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ । उद्घाटन समारोह बिहान ५ः१५ बजेबाट हुनेछ ।

कसरी हेर्ने ?

नेपालमा यसपालीको विश्वकप हिमालय स्पोट्र्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो एपमार्फत खेलहरूको स्ट्रिमिङ हुने छ ।
फिफाले नेपालका लागि एक्सक्लुसिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन् । नेपाली दर्शकहरूले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका सबै १०४ खेल हेर्न पाउनेछन् ।

टिभी प्याकेजका लागि करसहित ९९९ रुपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ । मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रुपैयाँ शुल्क तिरे पुग्नेछ ।