काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ। घरेलु मैदान अज्टेका रंगशालामा भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको हो।

विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेल प्रतिस्पर्धात्मक भए पनि दक्षिण अफ्रिकाले दुई रातो कार्ड बेहोर्दा खेलको नियन्त्रण मेक्सिकोको पक्षमा गएको थियो।

ADVERTISEMENT

खेलको नवौं मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। दक्षिण अफ्रिकी रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै इरिक लिराको पासमा क्विनोनेसले उत्कृष्ट फिनिस गरेका थिए। उनले पहिलो हाफमा अर्को अवसर पनि सिर्जना गरेका थिए, तर उनको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो।

दोस्रो हाफको ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै मेक्सिकोले ६७औं मिनेटमा राउल जिमेनेजमार्फत दोस्रो गोल गर्‍यो।

ADVERTISEMENT

दक्षिण अफ्रिकाको अवस्था झन् कठिन बन्दै ८४औं मिनेटमा थेम्बा ज्वानेले दोस्रो रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा झर्‍यो। अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएसँगै खेलमा कुल तीन रातो कार्ड देखाइयो।

यस खेलमा मेक्सिकोका युवा खेलाडी गिल्बर्टो मोराले विश्वकप डेब्यु गर्दै नयाँ कीर्तिमान समेत बनाए। उनी विश्वकप २०२६ का सबैभन्दा कान्छा खेलाडी बनेका छन् भने मेक्सिको र उत्तर अमेरिकाबाट विश्वकप खेल्ने सबैभन्दा कम उमेरका फुटबलरका रूपमा इतिहास रचेका छन्।

जितसँगै मेक्सिकोले समूह ‘ए’ मा तीन अंक जोड्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ। पराजित दक्षिण अफ्रिकामाथि भने आगामी खेलहरूमा दबाब बढेको छ। यस समूहको अर्को खेल चेक रिपब्लिक र दक्षिण कोरियाबीच हुने तालिका रहेको छ।