काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि दुवै मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री बालेन आफैले सम्हालेका थिए । अब प्रधानमन्त्रीसँग रक्षा मन्त्रालय मात्रै छ । मन्त्रिपरिषद् १७ सदस्यीय बनेकाे छ ।

ADVERTISEMENT

राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीद्वयले आजै पदबहाली गर्ने भएका छन् ।

ADVERTISEMENT

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायकप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायतको उपस्थिति थियो ।

ADVERTISEMENT

गुरुङ पूर्वगृहमन्त्री र पुन पूर्व शिक्षामन्त्री हुन् । गुरुङ रास्वपाका प्रतिनिधिसभा सदस्य र पुन स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

पहिलो पटक २०८२ चैत १३ गते गृहमन्त्री बनेका गुरुङले मन्त्री पदबाट वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । व्यापारी दीपक भट्टसँग सेयर लगानी गरेको भन्दै प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

वैशाख २८ गतेको मन्त्रीपरिषद्को बैठकले गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदन मंगलबार मन्त्रिपरिषद्ले ग्रहण गरेलगत्तै उनी पुनः गृहमन्त्री बनेका हुन् ।