काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंक घटेर २७३३.५९ विन्दुमा झरेको छ। अघिल्लो कारोबारमा नेप्से २०.२७ अंकले घटेर बन्द भएको थियो।
१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ । आज होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार चार अर्ब आठ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । मंगलबार ३५७ स्टकको ६३ हजार ७३२ पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कृषि विकास बैंकको ८ वर्षे एग्रीकल्चर बण्डको ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको करिब ३६ करोड र १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।
मंगलबार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।





