काठमाडौँ । सरकारले पूजाआजा, होम, हवन तथा दियो बाल्न प्रयोग गरिने चिल्लो पदार्थलाई ‘घिउ’को नाममा उत्पादन, भण्डारण र बिक्री वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अखाद्य चिल्लो पदार्थलाई घिउ, वनस्पति घिउ, बेकरी सर्टेनिङ वा ‘पूजा घिउ’को रूपमा बजारमा पठाउन रोक लगाएको हो ।
बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा विभागले यस्तो कडाइ गरेको जनाएको छ। केही उद्योगी तथा व्यवसायीले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत घिउ तथा तेल, विभिन्न बासना (सुगन्ध), प्याराफिन, खनिज तेल (मिनरल आयल) र अन्य रासायनिक पदार्थ मिसाएर पूजाका लागि चिल्लो पदार्थ तयार पारी बिक्री गर्दै आएका थिए।
यस्ता उत्पादनको स्वरूप, रङ, गन्ध र प्याकेजिङ बजारमा पाइने खाने घिउसँग दुरुस्तै मिल्ने भएकाले सर्वसाधारण झुक्किएर भान्सामा प्रयोग गर्ने र स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम देखिएको विभागको ठहर छ।
नेपाल सरकारले खाने घिउको स्पष्ट मापदण्ड तोकेकाले पूजाका लागि तयार पारिएका कुनै पनि चिल्लो पदार्थलाई खाने घिउको नाम दिन नपाइने विभागले स्पष्ट पारेको छ। नयाँ निर्देशन अनुसार अब पूजा, हवन वा दीप प्रज्वलनका लागि मात्रै उत्पादन गरिने चिल्लो पदार्थको लेबलमा ‘घिउ’, ‘वनस्पति घिउ’ वा ‘बेकरी सर्टेनिङ’ जस्ता शब्द उल्लेख गर्न पाइने छैन।
साथै, यस्ता उत्पादनको प्याकेटको अगाडिपट्टि स्पष्टसँग देखिने गरी ठूलो अक्षरमा ‘खानको लागि होइन’ लेख्नुपर्नेछ र कालो रङको क्रस चिह्न ‘X’ अनिवार्य रूपमा राख्नुपर्नेछ। विभागले खाने घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङ उत्पादन तथा बिक्री गर्दा पनि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका लेबल विवरणहरू अनिवार्य उल्लेख गर्न निर्देशन दिएको छ।
खाद्य र अखाद्य उत्पादनबिचको मिसावट रोक्न तथा उपभोक्ता झुक्याउने प्रवृत्तिको अन्त्य गर्न यस्तो कदम चालिएको विभागले जनाएको छ । सरकारी निर्देशनको अवज्ञा गरी आदेशविपरीत कार्य गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।










