काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई थप अनुसन्धानका लागि जनही तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

सोमबार थपिएको म्याद दीपक भट्टका हकमा नवौँपटक तथा शुलभ अग्रवालका हकमा आठौँपटक भएको हो।

ADVERTISEMENT

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले दुवै जनालाई थप तीन दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो।

यसअघि अदालतले उनीहरूलाई सात दिन थुनामा राख्न अनुमति दिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन तथा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले म्याद थपको आदेश जारी गरेको हो।

ADVERTISEMENT

मिसिलमा संलग्न कागजात तथा प्राप्त प्रतिवेदनका आधारमा अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको र रायसहितको प्रतिवेदन तयार गर्न थप समय आवश्यक देखिएकाले म्याद थप गरिएको अदालतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम म्याद थपको आदेश जारी गरिएको हो।

यसअघि पनि विशेष अदालतले अनुसन्धानको बाँकी कार्य शीघ्र सम्पन्न गरी रायसहितको प्रतिवेदन पेस गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको थियो।