काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे दलहरूलाई जानकारी गराएका छन् । उनले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक राखेर भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराएको बताए ।
लिङ्देनले प्रधानमन्त्री बालेन्द्र शाह र लामिछानेका पछिल्ला अभिव्यक्तिलाई अपरिपक्व संज्ञा दिए । उनले वैदेशिक सम्बन्धका विषयमा सरकार र सत्तारुढ नेतृत्वले बढी जिम्मेवार र परिपक्व व्यवहार देखाउन सुझाएका हुन् ।

ADVERTISEMENT

लिङ्देनले प्रधानमन्त्री बालेन्द्रले संसद बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको मन्तव्य र भारत भ्रमणका क्रममा रवि लामिछानेले ‘हामी विगतको भारी बोक्दैनौँ’ भनेर दिएको अभिव्यक्ति दुवै भनाइ अपरिपक्व भएको बताए ।

‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहार देखाउनु भएन। देश जित्नेको मात्र होइन, हार्नेको पनि हो। सरकारले गर्ने गलत क्रियाकलापको असर सम्पूर्ण देशले व्यहोर्नुपर्छ,’ उनले भने ।

ADVERTISEMENT

लामिछानेले जेठ १८ गतेदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका थिए ।

रविले बोलाएको बैठकमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने गएनन् । हर्कले सरकारले सर्वदलीय बैठक नबोलाएकाले आफ्नो पार्टी नभएको प्रतिक्रिया दिएका छन् ।

यस्तै रास्वपा सभापति लामिछानेले संसदको गतिरोध अन्त्य गर्न विपक्षी दलहरूसँग अनुरोध गरेका छन् । सर्वदलीय बैठकमा लामिछानेले सो आग्रह गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । सरकारको तर्फबाट प्रष्ट पार्ने गरी परराष्ट्र मन्त्रालयले राखिसकेकाले सदनमा पनि आवश्यक परेमा राख्न सकिने लामिछानेले बताएका थिए ।

तर विपक्षी दलहरूले सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाह आफैंले जवाफ दिनुपर्ने भन्दै आजकाे संसद् बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेका छन् ।