चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण प्रभावित बनेको छ। उद्घाटन सत्रदेखि बन्दसत्रसम्म आइपुग्दा देखिएको अव्यवस्थाले प्रतिनिधिहरू असन्तुष्ट बनेका छन्।

सोमबार बिहान सुरु हुने भनिएको बन्दसत्र दिनभर सञ्चालन हुन नसकेपछि प्रतिनिधिहरू निराश हुँदै फर्किन बाध्य भए। प्रतिनिधिहरू बिहानैदेखि चितवन प्रदर्शनी केन्द्रमा उपस्थित भए पनि साँझसम्म बन्दसत्र सुरु हुन सकेन।

रास्वपा प्रवक्ता मनिष झाले प्रतिनिधिको रुजु तथा परिचयपत्र (कार्ड) छपाइमा समस्या देखिएकाले बन्दसत्र स्थगित गरिएको बताए। उनका अनुसार अब महाधिवेशन एक दिन थप लम्बिनेछ।
महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूको बसाइ र खर्च बढ्ने भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। रास्वपाले खानाको व्यवस्था गरे पनि आवासको व्यवस्था भने प्रतिनिधिहरू आफैले गर्नुपर्ने निर्णय गरेको छ।

ADVERTISEMENT

यसबीच नयाँ नेतृत्व चयन प्रक्रियामा जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न दबाब बढेको छ। पार्टीभित्रका युवा प्रतिनिधिहरूले नयाँ कार्यसमितिमा जेनजी पुस्तालाई अर्थपूर्ण भूमिका दिनुपर्ने माग गरेका छन्।

ADVERTISEMENT

महाधिवेशनमा सहभागी केही नेताहरूका अनुसार जेनजी प्रतिनिधित्वको विषयले पनि बन्दसत्र प्रभावित भएको चर्चा छ। यद्यपि पार्टी नेतृत्वले व्यवस्थापकीय समस्याका कारण कार्यक्रम प्रभावित भएको जनाएको छ।

ADVERTISEMENT