काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट निस्केका रास्वपा सभापति रवि लामिछाने शनिबार कारागार फर्के । कारागार फर्किनुअघि रविले फेसबुकमा भिडियो सन्देश दिँदै पुराना दल र तिनका नेताको आलोचना गरे । उनले आफूलाई फसाइएको भन्दै नयाँ सरकारसँग पाँचवटा मआग पनि अघि सारे ।
त्यसक्रममा उनले आफ्ना पार्टीका केही नेताहरू बाहिरिन लागेको संकेत पनि गरेका थिए । उनले भनेका थिए- ‘म कुनै साथीभाइको प्रगतिमा बाधक बन्दिनँ । कोही पार्टी छाडेर जान चाहन्छ भने पनि केही भन्दिनँ । तर पार्टी त कुनै पनि हालतमा बन्छ बन्छ ।’
जेनजी आन्दोलनले राजनीतिक कोर्स नै परिवर्तन गरेर फागुनमा निर्वाचनको मिति तोकेकाले धेरै नयाँ पार्टी खुल्ने क्रममा छ । यसैक्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनले नयाँ दल दर्ता गर्ने तयारी गरेको चर्चा छ । यस्तो हल्लाकै बीचमा आइतबार रास्वपा नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। पार्टीमा सिद्धान्तभन्दा नेतातन्त्र बढी भएकाले आफूले परित्याग गरेको उनले बताएकी छन्।
सुमनाले राजीनामा दिएपछि डा.तोसिमा कार्की र रासपा केन्द्रीय सदस्य गणेश कार्कीले पनि राजीनामा दिने चर्चा चलेको छ। उनले पार्टीका निर्णयमा असहमति राख्दै आएका छन् ।
गणेशले गत सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनमा सहभागी भएका तस्बिरहरू सार्वजनिक छन्। तोसिमा पनि आन्दोलनमा घाइते भएका युवाहरूको उपचारमा खटिएकी थिइन्। बालेनले दर्ता गर्ने नयाँ दलमा सुमना, गणेश, तोसिमालगायत संलग्न हुने चर्चा व्यापक छ । तोसिमा संसद् विघटनको पक्षमा थिइन् । जुन माग बालेनको थियो । गणेश त सुरुदेखि नै बालेनको सल्लाहकार टिममा छन् ।








