झापा । नगदे बालीका रूपमा परिचित चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको झापामा अब एउटै बगानभित्र दुवै बालीको मिश्रित खेती सुरु गरिएको छ । भद्रपुर नगरपालिका–८ र ९ मा सञ्चालित ‘हडिया रियल टी इस्टेट’ले ६० बिघा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएर नयाँ अभ्यास थालेको हो ।

कम्पनीका सञ्चालक भक्ति अधिकारीका अनुसार चिया र सुपारी दुवै बालीको जलवायु तथा माटोको आवश्यकता मिल्दोजुल्दो भएकाले अन्तरबालीका रूपमा सुपारी खेती सुरु गरिएको हो । उनका अनुसार सुपारीको अग्लो बोटले चियालाई आवश्यक पर्ने हल्का छहारी प्रदान गर्ने भएकाले एउटै बगानबाट दोहोरो लाभ लिन सकिने सम्भावना देखिएको छ ।

ADVERTISEMENT

“सुपारीको बोटले चिया झाडीलाई आवश्यक छहारी दिन्छ, यसले चिया र सुपारी दुवैबाट आम्दानी लिन सकिन्छ,” अधिकारीले भने ।

ADVERTISEMENT

झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमा चिया र सुपारीको मिश्रित खेती गरेको यो पहिलोपटक भएको बताइएको छ । उक्त बगानमा करिब एक दशकअघि चियाखेती सुरु गरिएको थियो भने तीन वर्षअघि मात्रै सुपारीका बिरुवा रोपिएका हुन् । हाल बगानमा ६० हजार सुपारीका बोट हुर्किरहेका छन् ।

कम्पनीका अनुसार सुपारीखेती विस्तारका लागि हालसम्म करिब एक करोड रुपैयाँ अतिरिक्त लगानी गरिएको छ । अबको चार वर्षपछि सुपारीले उत्पादन दिन थाल्ने अपेक्षा गरिएको छ । कम्पनीले आगामी दिनमा १०२ बिघा क्षेत्रफलसम्म यस्तो मिश्रित खेती विस्तार गर्ने योजना बनाएको छ ।

ADVERTISEMENT

भक्ति अधिकारीले भारतको आसाम भ्रमणका क्रममा चिया बगानभित्र सुपारी खेती गरिएको देखेपछि आफूलाई पनि यस्तो अभ्यास गर्ने सोच आएको बताए । उनले आसामबाट उन्नत जातको सुपारीको दाना ल्याएर आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरिएको जानकारी दिए ।

नेपालमा चिया खेती ३१ जिल्लामा फैलिएको छ भने सुपारी मुख्यतः कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा उत्पादन हुँदै आएको छ । मुलुकको कुल सुपारी उत्पादनको दुई तिहाइभन्दा बढी हिस्सा झापाले ओगटेकाले यस जिल्लालाई ‘सुपारीको राजधानी’ समेत भनिन्छ ।

पछिल्लो समय झापामा चिया, सुपारी, मरिच, अलैँची र केरालगायत छहारी मन पराउने बालीको अन्तरबाली खेतीमार्फत एउटै जमिनबाट बहुआयामिक लाभ लिने अभ्यास बढ्दो क्रममा रहेको छ ।

हडिया रियल टी इस्टेटको यो मोडेल सफल भए अन्य ठूला चिया बगानले पनि सुपारी खेती विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ । यसैको प्रभावस्वरूप मेचीनगरस्थित ‘वंशल टी इस्टेट’ले समेत परीक्षणका रूपमा चिया बगानभित्र सुपारी रोप्न सुरु गरिसकेको छ ।