काठमाडौँ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) का अध्यक्ष जेरोम पावेलमाथि संघीय सरकारले आपराधिक अनुसन्धान सुरु गरेका छन्। यो अनुसन्धान वासिङ्टन डीसीस्थित फेडको मुख्यालय भवन नवीकरणका लागि  गरिएको करिब २.५ अर्ब अमेरिकी डलर बराबरको खर्चलाई लिएर केन्द्रित रहेको जनाइएको छ।

गत जुन महिनामा पावेलले भवनको नवीकरणबारे कंग्रेसमा बयान दिएका थिए। सोही बयानको सत्यता र खर्च व्यवस्थापनबारे प्रश्न उठेपछि संघीय सरकारले छानबिन अघि बढाएको हो।

पावेलको प्रतिक्रिया : ‘ब्याजदर विवादको परिणाम’

ADVERTISEMENT

अनुसन्धान सार्वजनिक भएलगत्तै पावेलले आइतबार राति एक भिडियो सन्देश मार्फत यस कदमलाई राजनीतिक दबाबको निरन्तरता भनेका छन्। उनका अनुसार राष्ट्रपति ट्रंपसँग ब्याजदर नीतिबारे लामो समयदेखि चलिरहेको मतभेदका कारण आफू निशानामा परेको बताएका छन् ।

ADVERTISEMENT

“फेडले राष्ट्रपतिको चाहनाअनुसार होइन, आर्थिक तथ्य र सार्वजनिक हितलाई आधार मानेर ब्याजदर निर्धारण गर्दा आपराधिक मुद्दाको धम्की दिइनु गम्भीर विषय हो,” पावेलले भनेका छन्।

ADVERTISEMENT

फेडको स्वतन्त्रतामाथि प्रश्न

यो घटनाले फेडको ऐतिहासिक राजनीतिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि पावेलमाथि ब्याजदर नघटाएको आरोप लगाउँदै आएका छन्। 

विश्लेषकहरूका अनुसार यो आपराधिक अनुसन्धानले केन्द्रीय बैंकको वर्तमान नेतृत्वलाई मात्र होइन, भविष्यमा आउने फेड अध्यक्षलाई समेत राजनीतिक दबाबमा काम गर्न बाध्य पार्ने जोखिम देखिएको छ।

ट्रम्प प्रशासनको प्रतिक्रिया

अमेरिकी न्याय मन्त्रालयले अनुसन्धानबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरेको छ। तर मन्त्रालयका प्रवक्ताले करदाताको पैसा दुरुपयोग भएको भए छानबिन गर्नु प्राथमिकता भएको बताएका छन्।

ह्वाइट हाउसले पनि न्याय मन्त्रालयको वक्तव्यलाई उद्धृत गर्दै प्रतिक्रिया दिएको छ। राष्ट्रपति ट्रम्पले भने आफूलाई अनुसन्धानबारे जानकारी नभएको दाबी गर्दै पावेलको कार्यक्षमतामाथि पुनः प्रश्न उठाएका छन्।

एक वर्षदेखिको दबाब

पछिल्लो एक वर्षयता ट्रम्प र उनका निकट सहयोगीहरूले पावेलमाथि सार्वजनिक आलोचना, व्यक्तिगत टिप्पणी र पदबाट हटाउने धम्कीसमेत दिँदै आएका थिए। यद्यपि पावेलले राष्ट्रपतिसँग आफूलाई हटाउने कानुनी अधिकार नभएको अडान राख्दै आएका छन्।

यसअघि ट्रम्पले फेड गभर्नर लिसा कुकलाई समेत विवादमा तानेका थिए। उनीमाथि लगाइएका आरोपका विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छन्।

नवीकरण परियोजनाको विवाद

फेडको पुरानो भवन नवीकरण गरि त्यसमा रहेको गर्मी तथा आगो प्रतिरोधी पदार्थ (एस्बेस्टोस) हटाउने, विद्युतीय तथा भेन्टिलेसन प्रणाली सुधार गर्नुपर्ने भएकाले लागत बढेको फेडको दाबी छ। तर ट्रम्प निकट अधिकारीहरूले परियोजना अव्यवस्थित र महँगो भएको आरोप लगाउँदै आएका छन्।

गत जुलाईमा ट्रम्प र पावेलले संयुक्त रूपमा निर्माणस्थल अवलोकन गर्दा सार्वजनिक रूपमा नवीकरण खर्चबारे मतभेद देखिएको थियो।