काठमाडौं। आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपाल सरकारले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ।
कृषिप्रधान देश नेपालमा असार १५ लाई धान रोपाइँको मुख्य दिनका रूपमा लिने गरिन्छ। यस दिन देशभरका किसानहरू खेतमा धान रोप्ने, हिलो खेल्ने, रोपाइँका गीत गाउँदै श्रमलाई उत्सवका रूपमा मनाउने परम्परा छ। धान खेती नेपालको खाद्य सुरक्षाको मुख्य आधार भएकाले किसानहरूको मेहनतलाई सम्मान गर्ने दिनका रूपमा पनि यो दिवसलाई लिइन्छ।
यस वर्ष भने मनसुन ढिलो प्रवेश गर्नुका साथै अपेक्षाअनुसार सक्रिय हुन नसक्दा धेरै ठाउँमा धान रोपाइँ प्रभावित भएको छ। पर्याप्त वर्षा नहुँदा खेतमा पानीको अभाव देखिएको छ भने धेरै किसानले अझै रोपाइँ सुरु गर्न सकेका छैनन्। मौसमविद्हरूका अनुसार मनसुन नेपालमा केही दिन ढिलो भित्रिएको र हाल यसको प्रभाव कमजोर रहेकाले धान रोपाइँको काम सुस्त भएको छ। साथै रासायनिक मलको अभाव, उत्पादन लागतमा वृद्धि र सिँचाइको समस्याले किसान थप चिन्तित बनेका छन्। केही जिल्लामा गत वर्षको तुलनामा धान रोपाइँको क्षेत्रफल उल्लेख्य रूपमा घटेको छ।
यद्यपि, किसानहरू पर्याप्त वर्षाको प्रतीक्षामा छन्। समयमै मनसुन सक्रिय भए धान रोपाइँले गति लिने र उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। धान रोपाइँपछि शरीरलाई ऊर्जा मिलोस् भन्ने विश्वासका साथ दही–चिउरा खाने चलन पनि वर्षौंदेखि रहँदै आएको छ। त्यसैले असार १५ लाई दही–चिउरा खाने दिनका रूपमा पनि विशेष महत्त्वका साथ मनाइन्छ।
देशका विभिन्न जिल्लामा धान रोपाइँ महोत्सव, कृषक सम्मान, हिलो खेल्ने कार्यक्रम तथा कृषि उत्पादन वृद्धि सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन्।
मनसुनसँगै हुने धान रोपाइँ नेपालको कृषि अर्थतन्त्रको आधार मानिन्छ। किसानहरूको निरन्तर मेहनतले नै देशको खाद्य सुरक्षा सुनिश्चित हुने भएकाले राष्ट्रिय धान दिवस किसानप्रतिको सम्मान र कृषि क्षेत्रको महत्त्व सम्झने अवसरका रूपमा पनि मनाइँदै आएको छ।












