काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार तीन अर्ब ८९ करोड बराबरको कारोबार भएकोमा आज ३३६ स्ट्रिप्सको एक करोड आठ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४९ करोडभन्दा बढीको कारोबार भएको छ । आज २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ ।
अघिल्लो दिन जस्तै आज पनि सबैभन्दा बढी आँखुखोला जलविद्युतको ४३ करोडभन्दा बढीको कारोबार भएको छ । रिडी पावरको २४ करोड ५४ लाख, नेपाल हाइड्रोपावरको १६ करोड १६ लाख, अपी पावरको १६ करोडभन्दा बढीको कारोबार भएको छ ।
शुक्रबार क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ । यस्तै, माबलुङ इनर्जीको ९.३५ प्रतिशत, बुंगल हाइड्रो र आँखुखोला हाइड्रोको सात सात प्रतिशत सेयर मूल्य बढेको छ ।
शुक्रबार ट्रडिङ इन्डेक्सबाहेक सबै उपसूचक हरिया भएका छन् । हाइड्रोपावरको उपसूचक १.२९ प्रतिशतले बढेको छ । बैंकिङदेखि म्युचुअल फन्डसम्म शून्य प्रतिशतले वृद्धि भएको छ ।








