काठमाडौं । जापानका विभिन्न क्षेत्रमा भालुको आक्रमण बढ्दै गएको छ । अप्रिलयता जापानका ६ वटा प्रिफेक्चरमा भएका भालु आक्रमणमा कम्तीमा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

न्यूज ए जेडका अनुसार अधिकांश आक्रमण जंगल क्षेत्रमा भएका छन्। कम्तीमा ८ जना वन क्षेत्रमा आक्रमणमा परेका थिए, जसमध्ये २ मृतकसहित ५ जना पहाडमा खाने जंगली वनस्पति टिप्न गएको बेला भालुको आक्रमणमा परेको अनुमान गरिएको छ।

ADVERTISEMENT

कम्तीमा दुई वटा आक्रमण भने आवासीय क्षेत्रमा भएका छन्।

टोयामा प्रिफेक्चरको टोयामा सहरमा ४० वर्षीया एक महिला कुकुर घुमाइरहेका बेला भालुले आक्रमण गर्दा घाइते भएकी थिइन्। त्यस्तै, अकिता प्रिफेक्चरको युरिहोन्जो सहरमा ४८ वर्षीय एक पुरुष धानखेत निरीक्षण गर्ने क्रममा भालुको आक्रमणमा परेका थिए।

जापानको वातावरण मन्त्रालयले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले बाहिर जाँदा रेडियो वा भालु भगाउने घण्टी बोक्न, एक्लैभन्दा समूहमा यात्रा गर्न, बाहिर खानेकुरा वा फोहोर नफाल्न तथा स्थानीय सरकारले जारी गर्ने भालु देखिएको सूचनाबारे जानकारी लिन सुझाव दिएको छ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०२५ मा जापानभर भालु आक्रमणबाट २३८ जना प्रभावित भएका थिए, जसमा १३ जनाको मृत्यु भएको थियो।