काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीका आधारमा नेपाल प्रहरीले सोमबार बिहान उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले मेयर सिंह पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार सोमबार बिहान करिब ६ः१५ बजे ठोरीबाट उनलाई पक्राउ गरिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार मेयर सिंहविरुद्ध लिखतसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान भइरहेको थियो। सोही मुद्दाका सन्दर्भमा जिल्ला अदालत पर्साले यसअघि नै पक्राउ पुर्जी जारी गरेको थियो। अदालतको आदेश कार्यान्वयन गर्दै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउसँगै मेयर सिंहमाथि लागेको आरोप, त्यससँग सम्बन्धित कागजात तथा कानुनी प्रक्रियाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यद्यपि मुद्दाको विस्तृत प्रकृति र लिखतसम्बन्धी कसुरको विषयमा प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

ADVERTISEMENT