काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन शक्ति केन्द्रितकृत गर्न लागिपरेका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका बेला उनले जे जे गरेका थिए, अहिले बालेनले त्योभन्दा एक स्टेप अगाडि बढेर आफूलाई शक्तिशाली बनाउन लागिपरेका छन् ।
नेकपाकालमा प्रधानमन्त्री रहेका केपी ओलीले सबै महत्वपूर्ण सरकारी निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेका थिए । त्यसबेला उनले राष्ट्रिय अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमै फर्काएको थियो । तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले यस्तो निर्णय गरेका थिए । तर सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न भन्दै चुनाव जितेर झन्डै दुई तिहाइको बहुमतको सरकारका प्रधानमन्त्री बालेनले गृह र रक्षा मन्त्रालयसमेतले नपुगेर फेरि राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत तानेका छन् ।
बुधवार कार्य विभाजन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत तानिएको हो । गत चैत १५ मा यही सरकारले सार्वजनिक गरेको सुशासन मार्गचित्रमा गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्न सुझाव दिइएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजकत्वको समितिले तयार पारेको सुशासन मार्गचित्रको ८०२ पेजमा प्रष्ट रूपमा गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न सुझाव दिइएको थियो । यो विभागले सरकारलाई महत्वपूर्ण सूचना र गोप्य रिपोर्ट बुझाउने गर्छ ।








