काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारी अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले चीनसँग नेपालको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT

राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेटवार्ता नगर्ने योजना बनाएका थिए। यद्यपि, पछिल्लो समय उनले असार २३ गते एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

सोमबार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको जनाइएको छ।