काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत ज्यान गुमाएकाको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ ।
एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड छ । प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो ।
यो घटनापछि सुनसरी अशान्त बनेको छ । प्रशासनले गए रातिदेखि फेरि अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।





