काठमाडौं । विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको घोषणा गरेको हो।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। अर्थमन्त्रीले जवाफ दिन थालेपछि विपक्षी चार दलले बैठक बहिष्कार गरेका थिए।
बैठक बहिष्कार गर्ने दलहरूमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्। ती दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने अडान राख्दै सदन छाडेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने बैठक बहिष्कार नगरी सदनमै बसेर अवरोध जारी राखेका थिए। उनीहरूले पनि प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए।
यसअघि बिहीबार नै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको हो। नीति तथा कार्यक्रममाथि उठेका विभिन्न प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्री डा. वाग्लेले दिएका थिए।
सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै अब आगामी आर्थिक वर्षको बजेट निर्माण तथा प्रस्तुतिको प्रक्रिया थप औपचारिक रूपमा अघि बढ्नेछ।
विपक्षी बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित










