काठमाडौं । चलचित्र ‘टीका’ (स्टेटलेस साेल) बन्ने भएको छ । भविष्य फिल्मस् र थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको बिहीबार बंगलामुखी मन्दिरमा शुभमुहूर्त सम्पन्न भएको छ ।
समारोहमा चलचित्रसँग आबद्ध कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो । चलचित्रमा कलाकार प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा र आयुषी ढकाललगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् । पटकथा विश्वास तिम्सिनाले लेखेका छन् । चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहने बताइएको छ ।
‘स्टेटलेस सोल’ अर्थात् राज्यविहीन आत्माको कथावस्तुमा आधारित चलचित्र ‘टीका’ सामाजिक तथा भावनात्मक विषयवस्तुमा केन्द्रित रहने निर्माण टिमले जनाएको छ ।
मुहूर्तसँगै चलचित्रको औपचारिक निर्माण कार्य सुरु भएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन छिट्टै विभिन्न स्थानमा गरिने भएको छ ।







