काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादपछि अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।
शिक्षक समुदायको भावनामा चोट पुगेको भन्दै आएको आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले गीत तत्काल हटाइएको र भविष्यमा थप जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गरेकी हुन्।
कार्कीले जारी गरेको विज्ञप्तिमा गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचारप्रसारका लागि मात्र तयार पारिएको स्पष्ट पारेकी छन्। उनका अनुसार उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा होइन।
गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका पेसाको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा कुनै पनि सम्मानित पेसा वा व्यक्तित्वलाई होच्याउने उद्देश्य नरहेको बताएकी छन्।
यद्यपि, प्रस्तुतीका कारण अन्जानमै कसैको भावना आहत भएको स्वीकार गर्दै उनले आफ्नो तथा सम्पूर्ण निर्माण टोलीका तर्फबाट हृदयदेखि नै माफी मागेकी छन्।
पहिलो पटक चलचित्र निर्माणमा रहेकी कार्कीले भविष्यमा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुग्ने सामग्री प्रस्तुत नगर्ने प्रतिबद्धता जनाउँदै नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा यस घटनाबाट आहत भएका सबैप्रति सम्मान व्यक्त गरेकी छन्।
विवादपछि सम्बन्धित प्रचारात्मक गीत दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइएको तथा आफ्ना सबै सामाजिक सञ्जालबाट पनि उक्त सामग्री हटाइसकिएको उनले जानकारी दिएकी छन्।
साथै, प्राप्त सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी सिर्जनामा अझ संवेदनशील र जिम्मेवार रहने प्रतिबद्धता दोहोर्याएकी छन्।
यसैबीच, गायक दुर्गेश थापाले पनि छुट्टै विज्ञप्ति जारी गर्दै शिक्षक समुदायसँग सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।





