काठमाडौं । घरजग्गा कारोबार गर्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) लिखत साथ संलग्न गराउनुपर्ने प्रावधान जारी गरी विभागले कार्यान्वयनका लागि मंगलबार मालपोत कार्यालयहरुलाई पत्र पठाएको थियो। यो प्रावधानमा प्रधानमन्त्री कार्यालयले चर्को असन्तुष्टि जनाएपछि विभागले सच्याउने भएको छ ।
विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले बिहीबार आकस्मिक बैठक डाकेर छलफलमा गरेका थिए । छलफलमा भूमि व्यवस्था मन्त्रालयका अधिकारी पनि सामेल थिए । प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतमले बैंक स्टेटमेन्ट मालपोतमा देखाउने प्रावधानले व्यक्तिगत गोपनीयता नरहने भएकाले यसलाई अनिवार्य गर्न नहुने बताए।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले केवाइसी फारम भर्नुपर्ने प्रावधान पनि हटाउन लागेको छ। घरजग्गा किनबेचमा तीनपुस्ते अनिवार्य भएकाले केवाइसीसमेत आवश्यक नपर्ने उनले बताए। विभागले घरजग्गा कारोबारमा अवैध धन रोक्न लिखत पारित गर्दा बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने निर्णय गरी मातहतका सबै मालपोत कार्यालयलाई पत्रमार्फत निर्देशन दिएको थियो।





