काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा १ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ देशबाट बाहिरिएको छ।नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत मसान्तसम्मको विवरणअनुसार उक्त रकम विभिन्न प्रयोजनका लागि विदेशिएको हो।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस अवधिमा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूले मात्रै १ खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिर लगेका छन्।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा विदेशिने रकम २.६ प्रतिशतले घटेको देखिएको छ।
गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा १ खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो।त्यसमध्ये विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूले मात्रै १ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ लगेका थिए।
राष्ट्र बैंकको विवरणले नेपाल भ्रमणमा आउने पर्यटकको खर्चसमेत घटेको देखाएको छ।चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल आउने विदेशी पर्यटकले ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८ प्रतिशतले कम हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विदेशी पर्यटकको खर्च ६६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो।
विदेश अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिनु तथा पर्यटक खर्चमा गिरावट आउनुले मुलुकको विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्रमा दबाब पर्ने छ।










