काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.९४ अंक बढेर २७१८.१६ विन्दुमा कायम छ। बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से आज भने झिनो बढेको हो।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार तीन अर्ब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३३४ स्टकको ४५ हजार ६५ पटकको कारोबारमा दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँबराबरको ६६ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको १७ करोड ६८ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको करिब साढे १४ करोड रुपैयाँ र नेसनल हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
आज स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १२.१९ प्रतिशत बढेको छ। कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १३.२४ प्रतिशत घटेको छ। अप्पर लोहोरे खोला जलविद्युत कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।
आज १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। कारोबारमा आएका वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।








