काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धानका लागि अर्याललाई सरकारी वकिल कार्यालयमा लगेको हो।
सीआईबीका अनुसार अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो।
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा उनको संलग्नताबारे अनुसन्धान भइरहेको छ। थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको प्रक्रिया अघि बढाइएको हो।












