काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयमा भएको भ्रष्टाचार प्रकरणमा प्रधानाध्यापक र लेखापालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भवन निर्माणलगायत कार्यमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि दमक नगरपालिकामार्फत् सञ्चालन भएको भवन निर्माण कार्यमा अनियमितता भएको पाइएको हो। पहिलो तलाको वास्तविक मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ रहेकोमा नक्कली बिल, बिजक र भरपाइ तयार गरी २ करोड ७ लाख ७९ हजार ९२२ रुपैयाँ भुक्तानी गरिएको थियो।
यसरी ५९ लाख २६ हजार ६८६ रुपैयाँ बढी भुक्तानी गरेर सरकारी रकम हिनामिना गरिएको अख्तियारको दाबी छ।
त्यसैगरी, दुवैजनाको मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखि रहेको बेरुजु रकम १६ लाख ६० हजार १०१ रुपैयाँ व्यक्तिगत प्रयोजनमा खर्च गरिएको तथा थप १७ लाख ९६ हजार ५२१ रुपैयाँ पनि हिनामिना गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
अख्तियारले दुवै जनामाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।









