काठमाडौं । कास्कीको लिचिबारी जग्गा घुस प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुईजना मन्त्रीसहित सातजनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ADVERTISEMENT

आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गरेको स्राेतले बताएकाे छ । उनीहरूसँगै पाँचजना बिचौलियालाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा गरिदिने तथा आफू अनुकूलको व्यक्तिको नियुक्ति गरिदिने आश्वासन दिँदै ५३ लाख रुपैयाँ घुस लिएको अडियो प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

ADVERTISEMENT

गत असार २८ गते सार्वजनिक भएको उक्त अडियोमा मन्त्री गुप्ता घुस लिँदै गरेको स्पष्ट सुन्न सकिन्छ । त्यसपछि आयोगले प्रारम्भिक अनुसन्धान गर्दै दोषी देखिएका मन्त्रीद्वयसहित अन्य प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तर तत्कालीन भूमिव्यवस्था मन्त्री बलराम अधिकारीमाथि भने कुनै कारबाही प्रक्रिया अघि बढाइएन । गुप्ताले अधिकारीले समेत घुसको रकम लिइसकेको भनेका थिए ।