काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो ।

आयोगका अनुसार चौधरीले खाद्य उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको पुष्टि भएको छ । उनले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिँदै घुसका लागि बार्गेनिङ गरेको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ADVERTISEMENT

सूचनाका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले चौधरीलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर गरेको पुष्टि भएपछि आयोगले ३० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।

ADVERTISEMENT

उक्त मुद्दा विशेष अदालत, काठमाडौंमा दर्ता भइसकेको आयोगले जनाएको छ ।