काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा एक्स्काभेटर चलेको छ ।

सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बिहानैदेखि बस्तीमा डोजर चलेको हो।

ADVERTISEMENT

बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।

विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।

ADVERTISEMENT

घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामान नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेको दृश्य घटनास्थलमा देखिएको छ।

सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए। नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो।

सुकुम्बासीले छाडेका घर तथा टहरा भत्काउने क्रममा नजिकैको मेलम्चीको शाखा लाइन फुटेको छ । जसकारण थापाथली एरियाका सडकमा पानी नै पानी भएको छ ।