काठमाडौं। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमवासीहरूले बस्ती खाली गर्न सुरु गरेका छन्। सरकारले संरचना हटाउने तयारी गरेपछि आज बिहानदेखि बासिन्दाहरूले आफ्ना सामान सार्न थालेका हुन्।

प्रहरीले बिहीबार साँझ बस्ती छाड्न माइकिङ गरेपछि स्थानीयहरू सतर्क बनेका थिए। त्यसपछि कतिपयले आफ्ना घरका सामान बोकेर तथा गाडीमार्फत अन्यत्र स्थानान्तरण गर्न थालेका छन्।

यसअघि बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती खाली गराउने निर्णय गरेको हो।

उक्त बैठकमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसहित सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। निर्णयअनुसार थापाथलीसहित काठमाडौंका चार सुकुमवासी बस्तीमा पहिलो चरणमा डोजर चलाउने तयारी गरिएको छ।

सरकारले संरचना हटाउने सूचना सार्वजनिक गरेपछि केही बासिन्दाले स्वेच्छिक रूपमा बस्ती खाली गरिरहेका छन् भने केहीले भने निर्णयको विरोध गर्दै बस्ती नछाड्न आग्रह गरिरहेका छन्।

प्रशासनले व्यवस्थित रूपमा बस्ती खाली गराउने प्रक्रिया अघि बढाएको जनाएको छ भने आगामी दिनमा थप सुरक्षा व्यवस्थासहित संरचना हटाउने कार्य सञ्चालन गरिने बताइएको छ।