काठमाडौं। काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बसेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउने अभियानका क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्।
संघीय सरकार र स्थानीय तहको समन्वयमा गत वैशाख १२ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत काठमाडौंका विभिन्न १६ स्थानमा डोजर प्रयोग गरी बस्ती खाली गराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
प्रशासनका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, बंशीघाट, शंखमुल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन र साततले क्षेत्रमा बस्ती हटाइएको हो।
वैशाख १२ देखि २१ गतेसम्मको तथ्यांकअनुसार डोजर चलाइएका ती बस्तीबाट २ हजार ५०१ परिवार विस्थापित भएका छन्। ती परिवारका कुल १५ हजार ३१६ जना प्रभावित भएका हुन्।
विस्थापितमध्ये ६ हजार ८५८ महिला, ५ हजार २३५ पुरुष, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार अभियानका क्रममा ८९० पक्की तथा १ हजार ७९७ कच्ची गरी कुल २ हजार ६८७ घरटहरा भत्काइएको छ।
घरटहरा हटाइएपछि केही परिवार आफैं वैकल्पिक स्थानमा सरेका छन् भने केहीलाई सरकारले होल्डिङ सेन्टरमा राखेको जनाएको छ। सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारको वास्तविक सुकुमवासी पहिचान गरी आवश्यक व्यवस्थापन गरिने जनाएको छ।








