काठमाडौं । सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई कुनै पनि स्थानमा परिचालन नगरिएको स्पष्ट पारेको छ।
प्रतिनिधिसभामा रक्षा मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुकुमवासी बस्तीमा डोजर लगाएर हटाउने कार्यमा नेपाली सेना संलग्न नभएको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका सुकुमवासी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा भने नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने र सहजीकरण गर्ने काम गरेको जानकारी दिए।
उनले सरकार नागरिकको सुरक्षा र व्यवस्थापनप्रति संवेदनशील रहेको उल्लेख गर्दै स्थानान्तरणका क्रममा कानुनी प्रक्रिया र स्थानीय तहको समन्वयलाई प्राथमिकता दिइएको बताए।
संसद्मा उठेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री वाग्लेले सुकुमवासी बस्ती हटाउन सेनाको प्रयोग गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरे।






