काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजुलगायतका विभिन्न स्थानका सुकुम्बासी बस्ती खाली गराएर उनीहरूलाई हाल दशरथ रंगशालामा स्क्रिनिङ गरी कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा व्यवस्थापन गर्ने काम अघि बढाएको छ।
होल्डिङ सेन्टरमा राखिएका अधिकांश परिवारको साझा चिन्ता भने बालबालिकाको पढाइ बनेको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका डम्बर तामाङले छोरीले बनाएको चित्र देखाउँदै भने, ‘सरकारले हामीलाई कता सार्छ भन्ने टुंगो छैन, तर छोरीको पढाइ बिग्रिने हो कि भन्ने चिन्ता छ। यहाँ आएको आठ दिन भयो, खानाबस्न ठीक छ, तर पढाइको व्यवस्था छैन।’
त्यहीँ बस्दै आएका मनोज महतोले पनि दुई सन्तानसहित चारजनाको परिवार रहेको बताउँदै बालबालिकाको शिक्षाका लागि व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे। ‘बच्चाको पढाइका लागि केही पहल गरिदिए धेरै सहज हुन्थ्यो,’ उनले भने।
कीर्तिपुरको होल्डिङ सेन्टरको अवस्था बाहिर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएजस्तो नकारात्मक नभएको त्यहाँ बस्नेहरूले बताएका छन्। हाल राधा स्वामी व्यास सत्संगले खानपानको जिम्मा लिएको छ। वैशाख १६ गतेदेखि बिहान–साँझ खाना तथा दुई पटक खाजा–चियाको व्यवस्था हुँदै आएको छ।
यसअघि होटलबाट ल्याइने प्याकेट खानेकुराप्रति गुनासो गर्दै आएका बासिन्दाहरू अहिले सन्तुष्ट देखिन्छन्। विजय मगर भन्छन्, ‘पहिले होटलको प्याकिङ खाना पर्याप्त र गुणस्तरीय थिएन। अहिले भने घरजस्तै खाना पाइन्छ, थपेर खान पनि पाइन्छ।’
थापाथली बस्तीबाट होल्डिङ सेन्टरमा आएका पदमबहादुर तामाङलाई भने कामको चिन्ताले सताउन थालेको छ, पहिले घरमा रङ लगाउने काम गर्दै आएका उनले बस्ती खाली गर्न सूचना आए सँगै काम छाडेका थिए, अहिले उनी होल्डिङ सेन्टरमा टोलाउँदै बस्ने गरेका छन् ।
सुरुका दिनमा खुला आकाशमुनि बस्नुपरेको उनीहरूले अहिले टेन्टको व्यवस्था भएपछि राहत महसुस गरेका छन्। करिब १५० वटा टेन्टको व्यवस्थासँगै वर्षाका बेला पानीको बाछिटा आउने समस्या पनि समाधान भएको उनीहरूको भनाइ छ।
सुत्केरी आमा र शिशुका लागि पौष्टिक खाना तथा दूधको व्यवस्था गरिएको छ। पाँच महिनाकी सुत्केरी अञ्जली पासवानले भनिन्, ‘बस्न र खानाको व्यवस्था राम्रो छ। बच्चाका लागि पनि पौष्टिक खाना उपलब्ध भइरहेको छ।’
त्यसैगरी, होल्डिङ सेन्टरमा स्वास्थ्य डेस्क सञ्चालनमा ल्याइएको छ, जहाँ बिरामी तथा आवश्यक परेकाहरूको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ।
उपत्यकामा सबै स्थानको बस्तीमा एक साथ डोजर चल्दा धेरै मानिस बास बिहिन भएका छन् । कति होल्डिङ सेन्टरमा बस्दै आएका छन् भने कोही होटल, आफन्तकोमा बादै आएका छन् । केही हुनेहरु आफ्नै कोठा लिएर बसी सकेका छन् ।
दैनिक ज्याला मजदुरी गर्दै आएका उनीहरु अहिले कामबिहिन भएका छन् । पहिले दैनिक काम गर्ने उनीहरू अहिले होल्डिङ सेन्टरमा छट्पटिदै बसेको देखिन्छ । होल्डिङ सेन्टरको बसाइँ राम्रो भए पनि सरकारले छिटो बासको व्यवस्था गर्दिनुपर्ने उनीहरुको माग रहेको छ ।







