काठमाडौं । गरिमा विकास बैंकले दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको हो ।

यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरुको सूचीमा समावेश भएको छ । बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था इन्टरसर्टको तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई दुवै प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंक गुणस्तरीय बैकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए ।
गरिमा विकास बैंकले नेपालको बैकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयबाट करिब नौ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।