काठमाडौं । नेपाल सरकारले पश्चिम एसियामा जारी तनावका बीच उक्त क्षेत्रका विभिन्न देशहरूमा सबै प्रकारका श्रम स्वीकृति खुला गरेको छ।
वैदेशिक रोजगार विभागका अनुसार इरान–इजरायल द्वन्द्व लगायतका परिस्थितिबीच पनि इजरायल, यूएईसहित ११ देशमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण प्रकृतिका श्रम स्वीकृति पूर्ववत् रूपमा जारी हुने व्यवस्था गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको विभागले जनाएको छ। निर्णयसँगै साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा सबै प्रकारका श्रम स्वीकृति लिन सकिने भएको छ।
इराकको हकमा भने गत पुस ११ गतेको मन्त्रिपरिषद् निर्णयअनुसारकै व्यवस्था कायम रहने विभागले स्पष्ट पारेको छ।





