काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, कांग्रेस तथा एमालेका शीर्ष नेतालगायत नवनिर्वाचित सांसद सहभागी छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेले पार्टी अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखक पक्राउको विरोध गरेको छ । सांसद नै सडकमा उत्रिएका बेला लाठी प्रहार गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेका नेता गुरु बरालले बैठकको सुरुमै बोल्न समय मागेका थिए ।
सभाध्यक्ष अर्जुननरसिंह केसीले अनुरोध गर्दा पनि नबसेपछि दुई मिनेट समय दिएका थिए । बरालले नागरिकको मौलिक हक हनन् भएको बताउँदै भने– ‘केपी ओली र रमेश लेखकलाई आजै रिहा गरियोस् ।’
बैठकमा तीन अध्यादेश पेस हुने सम्भावित कार्यसूची छ । गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन० अध्यादेश २०८२’ पेस गर्नेछन् ।
सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।
सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आआफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ । सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन् ।








