हुम्ला, १३ फागुन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार जिल्लामा कुल ३४ हजार ३७२ मतदाता छन्। सबैभन्दा कम मतदाता ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालय मतदान केन्द्रमा रहेका छन्, जहाँ जम्मा ५४ मतदाता मात्र छन्। उक्त स्थान गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्ने दूरीमा रहेको छ र सडक सञ्जाल पुगेको छैन।

ADVERTISEMENT

सर्केगाड गाउँपालिकामा पनि ३०० भन्दा कम मतदाता भएका तीन मतदान केन्द्र रहेका छन्। देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ मतदाता रहेका छन्।

ADVERTISEMENT

चङ्खेली गाउँपालिकामा डाँफे आधारभूत विद्यालय नेप्कामा २४२ मतदाता छन्। उक्त गाउँ पुग्न पनि केन्द्रबाट एक दिन पैदल हिँड्नुपर्छ। रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा १४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २१२ मतदाता रहेका छन्।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा आठ मतदान केन्द्र छन्। हिमशिखर प्रावि तिलगाउँमा १३२, भृकुटी प्रावि जाँङगाउँमा २४७ र सुनखानी प्रावि हल्जीमा २९३ मतदाता रहेका छन्। तर ती गाउँका अधिकांश मतदाता हाल जिल्ला सदरमुकाम वा अन्य सहरमा बसोबास गरिरहेको जनाइएको छ।

ADVERTISEMENT

अरनिको प्रावि यारीमा १९५, खासरपानी प्रावि मुचुमा २३४, हिमालय प्रावि चालामा १५९, महाबौद्ध मावि याल्वाङमा २८० र नमोडोछोमु प्रावि ताङ्घीनमा १५९ मतदाता रहेका छन्। यी अधिकांश केन्द्रमा यतिबेला हिउँ जमेको छ। यारी र न्यालु लेकमा बाक्लो हिउँ परेका कारण कतिपय केन्द्रमा पुग्न कठिनाइ भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए। स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु गरिएको भए पनि अवस्था चुनौतीपूर्ण रहेको उनले बताए।

जिल्लामा सबैभन्दा धेरै मतदाता भएको केन्द्र भने खार्पुनाथ गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालय लालिमा हो, जहाँ एक हजार ६३ मतदाता रहेका छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९७७ र कोट मावि रोडीकोटमा ९३६ मतदाता रहेको निर्वाचन अधिकारी रोकायाले जानकारी दिए।