लुम्बिनी। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देही प्रशासनले मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार गएराति १२ः०० बजेदेखि लागू हुने गरी मौन अवधि सुरु भएको छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मातृका आचार्यद्वारा जारी सूचनामा निर्वाचन प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठीलगायत कुनै पनि कार्यक्रम गर्न नपाइने उल्लेख गरिएको छ।
मतदान हुनुभन्दा ४८ घण्टा अगाडि नै मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउन निर्देशन दिइएको छ। साथै कुनै पनि माध्यमबाट मत माग्ने वा प्रचारप्रसार गर्ने कार्यमा पूर्ण रोक लगाइएको छ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन पनि निषेध गरिएको प्रशासनले जनाएको छ।








