काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको बताउँदै मतदाता सबैलाई निर्धक्क र ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

अर्यालले आज रासससँगको कुराकानीमा सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु भएको बताउँदै सुरक्षा व्यवस्था चुस्त र सबल बनाइएको जानकारी दिएका छन्। उनले निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाइएका र एकीकृत सुरक्षा योजना लागू गरी सुरक्षा संवेदनशीलताका आधारमा देशभर सुरक्षा व्यवस्था सुदृढ गरिएको बताए।

ADVERTISEMENT

मन्त्री अर्यालले निर्वाचन कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश र जिल्लास्तरमा काम भइरहेको र गृह प्रशासनले अवस्था, आवश्यकता र चुनौती विश्लेषण गर्दै नियमित निगरानी गरिरहेको जानकारी दिए। हालै देखिएका केही छिटपुट झडपहरूले निर्वाचनलाई असर नपार्ने, ती घटना नियन्त्रणभित्रै रहेको र निर्वाचनलाई असर नगर्ने पनि उनले स्पष्ट पारे।

ADVERTISEMENT

भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियारको अवस्था पनि नियन्त्रणमा आएको उनले बताए। अधिकांश हतियार फिर्ता भइसकेको र भागेका कैदीबन्दीलाई पनि फिर्ता गराउन प्रयास जारी रहेको, अब असुरक्षाको खतरा नभएको उनले स्पष्ट पारे।

मन्त्री अर्यालले फागुन २१ गते निर्वाचन स्थगित हुने कुनै छुट सरकारसँग नरहेको बताउँदै निर्वाचनलाई पहिलो प्राथमिकतामा राखिएको र संविधान अनुसार संसद् विघटन भएको ६ महिनाभित्र निर्वाचन अनिवार्य रहेको बताए। उनले निर्वाचन सार्ने या स्थगित गर्ने कुनै सम्भावना नरहेको भन्दै सबै खाले परिस्थितिलाई नियन्त्रणमा राखिएको बताए।

ADVERTISEMENT

सरकारले विधिको शासन, सुशासन बहाली गर्ने र जनतालाई सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यका साथ निर्वाचनमा सहजकर्ता भूमिका निर्वाह गरेको उनले उल्लेख गरे। भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदानका दिन जनताले निर्धक्क भएर सहभागी हुन सक्ने अवस्था रहेको बताए।

मन्त्री अर्यालले निर्वाचनले सही पात्र चयन गर्ने, प्रजातान्त्रिक प्रणालीलाई थप सुदृढ र समावेशी बनाउने भएकाले शान्तिपूर्ण र अहिंसात्मक रूपमा मतदान गर्न सबै देशवासीलाई आग्रह गरेका छन्।