काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा र स्याङ्जामा आफ्ना उम्मेदवार टुंगो लगाएको छ। शनिबार काठमाडौंमा बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारको नाम अन्तिम गरेको हो।
एमाले अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। सचिवालय बैठकले झापाका पाँचमध्ये चार निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। झापा–१ बाट रामचन्द्र उप्रेति, झापा–२ बाट देवराज घिमिरे र झापा–४ बाट मनोज ताम्ली उम्मेदवार हुने तय भएको छ।
यसैगरी, एमालेले स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि उम्मेदवारको नाम सार्वजनिक गरेको छ। स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट मीनप्रसाद गुरुङ र क्षेत्र नं. २ बाट खिमबहादुर थापा उम्मेदवार बनेका छन्।
स्याङ्जा–१ बाट उम्मेदवार बनेका गुरुङ गण्डकी प्रदेशसभा सदस्यका पूर्वसदस्य तथा एमाले स्याङ्जाका पूर्वअध्यक्ष हुन्। उनी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका अनुभवी नेता मानिन्छन्। स्याङ्जा–२ बाट उम्मेदवार चयन भएका थापा हाल कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। उनी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए। प्रतिनिधिसभा उम्मेदवार बनेसँगै उनले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर निर्वाचन केन्द्रित गतिविधिमा लाग्ने बताएका छन्।
स्याङ्जामा निर्वाचनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा दुई लाख ४८ हजारभन्दा बढी मतदाता रहेका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा एक लाख ३० हजारभन्दा बढी र क्षेत्र नं. २ मा करिब एक लाख १८ हजार मतदाता छन्।






